घोडाघोडी । हरियो खुर्सानी र हरियो धनियाको मिश्रणबाट बनेको डोक्नीको चटनीसँग ढिक्रीको स्वाद बेग्लै हुन्छ। चटनीमा ढिक्री लटपटाएर दाँतले टोक्दै खाँदाको स्वादले थारु समुदायको मौलिक खानाको झल्को दिन्छ।ढिक्री थारु समुदायमा पुस्तौँदेखि प्रचलनमा रहेको रैथाने परिकार हो। विशेषगरी नास्ता तथा खाजाका रूपमा खाने गरिए पनि यसलाई मुख्य खानाका रूपमा समेत प्रयोग गर्न सकिन्छ।

चामलको पिठोलाई पानीमा मुछेर तयार पारिने ढिक्रीलाई विभिन्न आकार दिएर पकाउने गरिन्छ।ढिक्री बनाउन सुरुमा आवश्यकताअनुसार चामलको पिठो पानीमा मुछिन्छ। तयार भएको पिठोलाई हातकै सहायताले लामो, गोलो, चरा, घोडा वा दाउराको भारी लगायत विभिन्न आकारमा बनाइन्छ। आकार दिइसकेपछि ढिक्री उसिन्ने विशेष भाँडा ‘पैन’ मा राखेर आगोमा उसिनिन्छ। केही समयपछि तयार भएको ढिक्री खान योग्य हुन्छ।

ढिक्रीमा कुनै विशेष स्वाद नमिसाउँदा पनि यसको आफ्नै स्वाद हुन्छ। तर पछिल्लो समय स्वादमा विविधता ल्याउन चिनी, नरिवल, किसमिस, मुंगफली र काजु मिसाएर बनाउने चलनसमेत बढेको छ। तयार भएको ढिक्रीलाई साग, मासु वा माछाको सुपसँग खान सकिन्छ। तर हरियो खुर्सानी र धनिया मिसाएर डोक्नीमा बनाइएको चटनीसँग खाँदा यसको स्वाद झनै फरक हुने थारु समुदायका जानकारहरू बताउँछन्।ढिक्री केवल एउटा खानाको परिकार मात्र होइन, थारु समुदायको मौलिक संस्कृति र खानपानको पहिचानसँग जोडिएको रैथाने परिकार पनि हो। तर बदलिँदो जीवनशैलीसँगै पछिल्लो पुस्तामा यसको प्रयोग र बनाउने चलन विस्तारै कम हुँदै गएको देखिन्छ। बनाउन केही समय र मेहनत लाग्ने भएकाले कतिपय युवा पुस्ता ढिक्री खान रुचाए पनि आफैँ बनाउन भने झन्झट मान्ने गरेको पाइन्छ।यसले ढिक्रीको मौलिकता र पुस्तान्तरणको विषयमा समेत चुनौती थपेको छ।

नयाँ पुस्तालाई यसको महत्व बुझाउँदै व्यावसायिक रूपमा समेत प्रवर्द्धन गर्न सके ढिक्रीलाई स्थानीय खानाको पहिचानबाट व्यावसायिक उत्पादनसम्म लैजान सकिने सम्भावना छ।भारतले समोसा र पानीपुरी तथा चीनले चाउमिनजस्ता परिकारलाई विश्वभर परिचित बनाउन सफल भएजस्तै नेपालका मौलिक रैथाने परिकारलाई पनि व्यापक रूपमा चिनाउन आवश्यक छ। स्वाद, मौलिकता र सांस्कृतिक पहिचान बोकेको ढिक्री त्यसका लागि एउटा सम्भावनायुक्त परिकार बन्न सक्छ।स्थानीय स्तरमा ढिक्रीका परिकार बिक्री गर्ने व्यवसाय, होटल तथा रेस्टुरेन्टमा यसको प्रवर्द्धन, पर्यटकीय क्षेत्रमा मौलिक खानाका रूपमा प्रस्तुत गर्ने तथा युवा पुस्तालाई यसको परम्परागत बनाउने विधिबारे सिकाउने काम गर्न सके ढिक्रीले नयाँ बजार पाउन सक्छ।त्यसैले ढिक्रीको संरक्षण र प्रवर्द्धन थारु समुदायको सांस्कृतिक जिम्मेवारीसँगै आर्थिक अवसरको विषय पनि बन्न सक्छ। मौलिक स्वाद र पहिचान बोकेको ढिक्रीलाई घरको भान्साबाट बजारसम्म पुर्याउन सके यसले थारु समुदायको खानाको पहिचानलाई फराकिलो बनाउने सम्भावना बोकेको छ।









Leave a Reply